विराटनगरमा नेट र केवलको तार व्यवस्थापन गरिँदै

विराटनगर । विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो ।

महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो ।

तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर पटक–पटक छलफल गरिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले अहिले नेतृत्वको योजना र निर्देशन अनुसार सरसफाई, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना हटाउने काम भइरहेको बताउनुभयो ।

म्याक्स, सुविसु, वल्र्डलिंक, भायनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको कोइरालाले बताउनुभयो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर नागेश कोइरालाले बताउँदै आउनुभएको छ ।

महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई मेयर कोइरालाले आग्रह गर्दै आउनुभएको छ । महानगरले उज्यालो महानगर अभियान सञ्चालन गर्दै सडकबत्ती जडानको कामलाई समेत तिब्रता दिएको छ ।

Back to top button