एन्फाको कार्यसमिति बैठक जारी

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जारी छ। आज बिहान ८ बजे बोलाइएको बैठक २ घण्टा ढिलो सुरु भएको हो।

आजको बैठकमा विविधसहित १९ वटा एजेन्डा तय गरिएको छ। यद्यपि, १३ जना सदस्यले थप्न माग गरेका ५ एजेन्डा भने आजको बैठकमा समावेश गरिएको छैन।

महासचिव राईले पत्राचार गर्नुभएका एजेन्डामा अन्तर्राष्ट्रिय थ्रीनेसन्स कप आयोजना, महिला ओलम्पिक छनोट प्रतियोगिता, ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी ४ वर्षको योजना लगायत विषय समावेश छन्।

यस्तै, सहिद स्मारक बी र सी डिभिजन लिग, जिल्ला लिग, यस वर्षको महिला लिग, विद्यालय स्तरीय महिला र पुरुष उमेर समूहका प्रतियोगिता र कर्मचारी नियुक्ति पनि समावेश छन्।

बैठकमा महिला र फुटसल फ्रेन्चाइज प्रतियोगिता, महिला एकेडेमी, प्रदेश संघको अधिवेशन, फुटसल लिग, नेपाल सुपर लिगका लागि समय उपलब्ध गराउने, राष्ट्रिय टिम र संघलाई आवश्यक खेलकुद सामग्री, प्रायोजन र खरिद, विभिन्न देशमा संघको समन्वय समिति गठन स्थायी समिति तथा अन्य आवश्यक समिति, आपतकालिन समिति, सीईओ, सहायक महासचिव लगायत कर्मचारी–पदाधिकारी नियुक्ति र विविध विषय एजेन्डामा उल्लेख छ।

यद्यपि, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडासहित सदस्यहरू रुपेश अधिकारी, रविन्द्र चन्द, रमेश व्यञ्जनकार, भरत बुढ थापा, पेमा डोल्मा लामा, टीका लामा, भोजराज शाही, मनिष जोशी, मनिराज विष्ट, महेन्द्र क्षेत्री र सरिला श्रेष्ठ गरी १५ जनाको नामसहित ५ एजेन्डा थप्न माग गर्नुभएको थियो।

थपिनुपर्ने एजेन्डाको पहिलो नम्बरमा विश्वकपको २०२२ को म्याच टिकटको विषय उठाइएको थियो। एन्फाले विश्वकपका फुटबल दर्शकका लागि किनेका टिकट हिनामिना भएको चर्चा फुटबल वृत्तमा छ।

यस्तै, दोस्रो एजेन्डामा एएफसीका विभिन्न समितिका लागि नाम सिफारिस गर्ने उल्लेख थियो। तर, महासचिव राईले यसअघि नै पत्रचार गरेर एजेन्डा समावेश नगरिएको जानकारी दिइसक्नुभएको छ ।

Back to top button