सन्दिप लामिछाने आज यूएई जाँदै

काठमाडौं । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उहाँलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।

विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाउनुभएको थिएन । सर्वोच्चले आइतबार उहाँको प्रतिबन्ध फुकुवा गरेको हो ।

क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिनुभएको हो । यसका लागि आईसीसीसँग पनि कुराकानी भइरहेको उहाँले बताउनुभयो ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उहाँको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उहाँले बताउनुभयो ।

आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा हुनुहुन्छ ।

Back to top button