प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै विश्वासको मत लिने हुनुभएको छ ।

संसद् बैठक चैत ५ गते तोकिएको र राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन आचारसंहिता पनि तय भएकाले निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने हुनुभएको हो ।

नेकपा माओवादी केन्द्रका सांसद् माधब सापकोटाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब निर्वाचन आचारसंहितापनि लागू भइसकेको अवस्था छ । संसद् बैठक पनि चैत ५ गते तोकिएकाले प्रधानमन्त्रीज्यूले निर्वाचनपछि विश्वासको मत लिने भन्ने छ । ’

राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँने तय भएको छ ।

नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिसकेका छन् । पुष १० मा प्रधानमन्त्री बन्दा विश्वासको मत दिएका दलहरूले सरकार छोडेपछि प्रचण्डले फेरि विश्वासको मत लिन लाग्नुभएको हो । एमाले र राप्रपाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका छन्। तर,सरकारबाट बाहिरिए पनि रास्‍वपाको समर्थन भने कायमै छ।

राष्ट्रपति निर्वाचनका क्रममा नयाँ ८ दलीय गठबन्धन बनेको छ । गठबन्धनमा कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

Back to top button