प्रदेश १ को नामकरणका लागि दुईवटा प्रस्ताव दर्ता

विराटनगर । प्रदेश नम्बर १ को नामकरणका लागि आह्वान गरिएको प्रस्ताव दर्ताको सूचनापछि दुईवटा प्रस्ताव दर्ता भएको छ ।

नेकपा एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो । जसमा कोशी प्रदेश प्रस्ताव गरिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं.– १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’

यस्तै एकिकृत समाजवादीका राजेन्द्र राई प्रस्तावक र जसपाकी निर्मला लिम्बु समर्थक रहेर अर्को प्रस्ताव दर्ता भएको छ । जसमा प्रदेशको नामकरण किराँत लिम्बुवान सगरमाथा प्रस्ताव गरिएको छ ।

प्रस्ताव दर्ताका लागि विहान १० देखि १२ बजेसम्मको समय दिइएको थियो । पछि समय थप गर्दै १ बजे सम्म पुर्‍याइएको हो ।

Back to top button