रास्वपाको निर्वाचन चिह्न घन्टीमा रहेको गोलाकार हट्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न परिवर्तन भएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो,‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’
निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।
रवि लामिछाने नेतृत्वको रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । उसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको थियो । तर चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित पार्टी सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादका कारण सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
यस्तै, चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि रास्वपासहित १८ दल दर्ता भएका छन् ।

Back to top button