
कास्की । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन्।
निजी क्षेत्रको बुद्ध aएयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ।
‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ,’ स्टेशन म्यानेजर गौतम बरालले भन्नुभयो।
उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो। म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन्।
ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन्। काठमाडौं, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान सवा ६ मा जहाज भद्रपुरका लागि उड्नेछ।
भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ। हवाइ उडान दुरी १ घण्टा १० मिनेटको हुनेछ। पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।
यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने मेनेजर बरालको भनाइ थियो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटि बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो।