संघीय निजामती र प्रहरी ऐनसँग सरकारको भविष्य निर्धारण : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग वर्तमान सरकारको भविष्य निर्धारण हुने बताउनुभएको छ ।

जनपुरमा आज मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय सरकारले तत्काल यी २ विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

‘अहिलेको सरकारले २ वटा काम तत्काल गर्नुपर्छ । संघीय निजामती ऐन यथाशीघ्र पास गरेर प्रदेश कर्मचारी तन्त्र स्थापित र प्रहरी समायोजन गरेर प्रदेशलाई हस्तान्तरण’, उहाँले भन्नुभयो, ‘यही दुईवटा काममा यो सरकारको भविष्य निर्धारण हुन्छ ।’

प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न नसकेको उहाँको भनाइ छ ।

‘एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ’, अध्यक्ष यादवले भन्नुभयो ।

उहाँले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुनै नसक्ने दावी समेत गर्नुभयो ।

Back to top button