प्रदेश १ : प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

विराटनगर । प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘कोशी’ नामको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

प्रदेशको नाम ‘कोशी’ बहुमतले स्वीकृत भएसँगै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको ‘किराँत–लिम्बुवान–सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर आज बसेको प्रदेशसभा बैठकमा सो नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव छलफलका निम्ति स्वीकृत भएको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले बताउनुभयो।

उहाँले हालः उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो,‘नाममाथिको छलफल सकिएपछि मत विभाजन हुन्छ।

मत विभाजनमा प्रदेशसभाको २ तिहाइ बहुमतले नाम पारित गरेपछि प्रदेशले नाम पाउँछ।’ प्रदेशसभामा हाल भने ‘कोशी’ नाममाथिको छलफल जारी छ।

Back to top button