नगर बस सञ्चालनका लागि कार्यबाहक मेयर कार्कीको नेतृत्वमा रुट परीक्षण

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ ।

महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो ।

हिजो दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेर रुटको परीक्षण गर्नुभएको हो ।

महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको कार्कीले बताउनुभयो ।

कुन रुटमा कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर रुट ट्रायल गरिएको भन्दै कार्कीले भन्नुभयो,‘ट्रायल सकिएपछि दुई–तीन महिनाभित्रै हामी नगर बस सञ्चालनमा ल्याउनेछौं ।’

नगरबस सञ्चालनमा आएपछि ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्यबाहक मेयर कार्कीले बताउनुभयो ।

बस वातानुकुलित सुविधासहितको हुने महानगरले जनाएको छ । महानगरले मिलन चोक, ढाट, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ ।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको कार्कीले बताउनुभयो ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

नगर बस सञ्चालनका लागि मेयर नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ ।

Back to top button