अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा जाँदै

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज कतारको राजधानी दोहा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा प्रस्थान गर्ने उहाँको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिनुभयो ।

श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूतलगायत हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले ५ देखि ९ मार्च (फागुन २१ गतेदेखि २५ गतेसम्म) दोहामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने छ । उहाँको भने ७ मार्च (फागुन २३ गते) स्वदेश फर्किने कार्यक्रम छ ।

यसअघि यो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भनिएको थियो । तर बदलिंदो राजनीतिक परिस्थिति, २५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लाग्नुभएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

यस्तै, नेपालले यस वर्षदेखि एलडीसीको अध्यक्षता गर्ने तालिका छ । यसअघि मलावीले यसको अध्यक्षता गरिरहेको थियो । श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनुहुने छ भने विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षी छलफलसमेत गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, दोहामा रहेका नेपालीहरूसँग समेत मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । उहाँले विभिन्न देश तथा संघ संस्थाका प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची समेत छ ।

Back to top button