महिलाको प्रचारमा मिडियाको कञ्जुस्याइँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ ।

आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार विषयक गोष्ठीमा सभामुख घिमिरेले संसद र अन्य संघसंस्थामा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चार माध्यमले त्यस अनुसार स्थान नदिएको बताउनुभयो ।

आफू सभामुख भइसकेपछिका संसद बैठकमा धेरै महिला सांसदले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमले प्रचार गर्न कन्जुस्याइँ गरेको घिमिरेको भनाइ छ ।

‘म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि चाहे शून्य समयमा होस् वा विशेष समयमा होस् उहाँहरुको सहभागिता राम्रो छ । तर त्यो खालको प्रचार प्रसारहरु छैन’ उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले सञ्चारमाध्यमहरुले ठूला नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको पनि बताउनुभयो ।

‘खास–खास नेताहरु बोल्ने दिन छ भने मिडियाहरुको उपस्थिति देखिन्छ । नभए करिव शून्य–शून्य हुन्छ’ उहाँले भन्नुभयो,‘अहिले मिडियाहरुले कन्टेनमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताहरुको प्रचारमा मात्रै जाने देखेको छु ।’

उहाँले सञ्चारमाध्यमहरुले नेता र शीर्षकमा केन्द्रित नभइ विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने धारणा राख्नुभयो ।

Back to top button