आयुर्वेदलाई प्राथमिकता दिन नेपाल सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदलाई प्राथमिकता दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आजबाट काठमाडौंमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको भन्दै उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकाले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ ।

उहाँले आयुर्वेदलाई संरक्षण र संवद्र्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको सुनाउनुभयो ।

नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताउनुभयो ।

Back to top button