खानेपानी सुधारको आयोजना छिटो सुरु गर्न मेयर कोइरालाको पहल

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गर्नुभएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गर्नुभएको हो ।

विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत वर्ष फागुनमै हस्ताक्षर गर्नुभएको थियो ।

खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै मेयर कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड अनुदान सहयोग उपलब्ध गराउनेछ ।

आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुननिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।

सो अवसरमा मेयर कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराउनुभयो ।

उहाँले जाइका निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने दाबी गर्नुभयो ।

भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताउनुभयो ।

यसैबीच, मेयर कोइरालाले आज नै यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गर्नुभएको छ । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाई, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुवात गरेको बताउनुभएको थियो ।

मेयर कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकारहरु प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको सुनाउनुभयो ।

कोइरालाले समावेशी शिक्षा, स्वास्थ्यका विषयमा पनि मेयर कोइरालाले सेपिदाहसित खुलेर कुरा गरेका थियो । उहाँले विराटनगर भ्रमणको निम्तोसमेत दिनुभएको छ । उक्त अवसरमा सेपिदाहले आफू विराटनगर आउन इच्छुक रहेको बताउनुभएको छ ।

Back to top button