
विराटनगर । नेकपा एमाले फिदिमले सुखानी हत्याकाण्डको सम्झनामा पार्टीले मनाउँदै आएको सुखानी दिवस सहिद परिवारका घरमा गएर मनाउने निर्णय गरेको छ ।
पञ्चायती दमनको विरुद्ध मोर्चा बन्दी गरेको आरोपमा पक्राउ परेका पाँच जना कम्युनिस्ट नेताहरूलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१मा मा सुखानीको जङ्गलमा लगेर गोली हानि हत्या गरिएको थियो ।
तत्कालीन प्रशासनले नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहालको हत्या गरेको हो । त्यस दिनलाई सुखानी दिवसको रुपमा एमालेले विभिन्न कार्यक्रम गरि मनाउने गरेको छ ।
यस पटक पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अभियान अन्तरगत फिदिम नगरपालिका क्षेत्रका सहिद परिवारका घरमा गएर सुखानी दिवस मनाउने निर्णय गरिएको एमाले केन्द्रीय सदस्य अमृता सुब्बाले बताउनुभयो ।
उहाँले सहिद परिवारको सुख दुख बुझ्न र पार्टीले बनाएको योजना सहिद परिवारसँग बाँड्न पार्टी घरमा जान लागेको स्पष्ट पार्नुभयो ।
सहिदको बलिदानले उपलब्धि भए पनि पार्टीले सहिद परिवारलाई बिर्सिएको आलोचना भइरहँदा ग्रास रुट अभियानले पार्टी सहिद परिवारसँगै भएको अनुभूति दिलाउने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।