मिसन ग्रासरुट अभियानमा पूराना नेता खोज्दै एमाले

विराटनगर । नेकपा एमालेले थालेको मिसन ग्रासरुट अभियानका क्रममा पूराना नेता खोज्दै नेताहरु घर घर पुग्ने अभियानमा हुनुहुन्छ ।

यस्तै पूराना नेता नवलकेमी राईलाई खोज्दै नेकपा एमाले इलाम स्थित उहाँको घर पुग्ने भएको छ । वाथ रोगले पिडित हुनुभएका राईको दैनिकी भने घाँस काट्ने, गाईको भकारो सोहोर्ने र धन्दा पात गर्दै बितिरहेको छ ।

तर उहाँ २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा विजयी हुने ५ जना जनपक्षिय सांसद मध्ये एक हुनुहुन्छ । त्यसबेला निर्दलको बिपक्षमा बोल्न समेत गाहे थियो । त्यहिबेला जनपक्षीय उम्मेदवार बनेर पञ्चहरुलाई हराउन सफल हुनुभएको थियो नवलकेमी राई ।

त्यो निर्वाचनमा पद्मरत्न तुलाधार, द्रोणप्रसाद आचार्य जागृतप्रसाद भेटवाल र सोमनाथ प्यासी अधिकारीसँगै नवलकेमी राईले पनि चुनाव जित्नुभएको हो ।

जनपक्षिय उमेद्वारको रुपमा त्यो बेला रापस जित्ने नेताहरु बहुदलपछि देशका बिभिन्न अहोदामा पुगेपनि राई बहुदलपछि भने गुमनाम हुनुभयो ।

२०४५ सालदेखि नै बाथ रोगले थलिनुभएका राईलाई एमालेले शुरु गरेको ग्रासरुट अभियान अन्तरगत खोज्ने प्रयास भएको छ ।

इलामको चुलाचुली गाँउपालिका साक्फारमा बस्नुहुने राईलाई खोज्न ग्रासरुट अभियान चुलाचुली गाँउपालिकाका संयोजक तथा एमालेका केन्द्रिय सदस्य रविन कोइरालालगायतका नेताहरु उहाँको घर पुग्ने भएको हो ।

कोइरालाले नवलकेमी राईको योगदान उच्च रहेको भन्दै उहाँको अवस्था बुझ्न र सम्मान गर्दै पुनः पार्टीमा सक्रिय बन्न अनुरोध गर्न जान लागिएको बताउनुभयो ।

वि. सं. २००५ सालमा साक्फाराको दशमी बजारमा जन्मनुभएका राईले पञ्चायती व्यवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ जनपक्ष मञ्च मालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

Back to top button