अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई जना सम्मानित

विराटनगर । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पेशागत महासंघ मोरङ, नेपाल निजामती कर्मचारी संगठन मोरङ र महिला विभागले राजनीतिक र पत्रकारीताको माध्यमबाट समाजमा योगदान दिने दुई महिलालाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहनुभएको छ । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित महिला नेतृ सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष इङनामले महिलाहरुलाई अगाडि बढ्न निकै चुनौति रहेको बताउनुभयो ।

आफूले राजनीति गर्ने बेलामा बेलुका घरको काम गरेर दिनमा बाहिरको काम अनि पार्टीको काम भ्याउने गरेको स्मरण गदै उहाँले महिलाको भूमिका धेरै हुँदा एकसाथ अगाडि बढाउन सहज नहुने बताउनुभयो ।

उहाँले तर असहजतालाई पनि सहज बनाउँदै निरन्तर लागेकै कारण पार्टीले आफूलाई पालिकाको अध्यक्ष पदको टिकट दियो र जनप्रतिनिधिका रुपमा काम गर्ने अवसर पाएको बताउनुभयो । उहाँले महिला नेतृहरुलाई औसला दिँदै भन्नुभयो,‘निरन्तर लागिरहे अवसर आउँछ ।’

पेशागत महासंघ केन्द्रिय स्थायी कमिटी सदस्य अशेष लम्साल, अनेमसंघ केन्द्रिय सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरस्वती खरेल, नेपाल निजामति कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संगठन केन्द्रिय सह कोषाध्यक्ष लिना यादवलगायतले दिवसको महत्व र महिलाको योगदानको चर्चा गर्नुभयो ।

नेपाल निजामती कर्मचारी संगठन मोरङकी उपाध्यक्ष टिका पाठक पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम रहनुभएको थियो ।

कार्यक्रममा पेशागत महासंघ मोरङकी उपाध्यक्ष पृथ्वी बस्नेतले संघर्ष गरेर अगाडि बढेका महिलाहरुलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आरम्भ गरिएको बताउनुभयो ।

कार्यक्रममा पेशागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्मालगायत निजामति क्षेत्रमा कार्यरत कर्मचारीहरु, शिक्षक शिक्षिका तथा साहित्यकारहरुको सहभागिता थियो । साहित्यिक व्यक्तित्वहरुले आ–आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुचकोे विस्तार’ भन्ने मूल नाराका साथ मार्च ८ अर्थात फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाईदै छ ।

Back to top button