विराटनगरमा सडक मापदण्ड भित्रका संरचना हटाउने अभियान तीव्र

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्ड भित्र बनाइएका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले त्यस्ता संरचनाहरु डोजर लगाएर हटाउन थालेको हो ।

सडक मापदण्डमा परेका संरचना हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर चलाउनुपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

संरचना नहटाउँदा महानगरका विभिन्न साँघुरा सडकहरुको विस्तार कार्य अलपत्र परेको थियो । केही दिनअघि बसपार्क दक्षिण–पूर्वमा अवस्थित सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा नम्बर १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचना हटाएको छ ।

स्थानीय विनोद रिजालको स्वामित्वमा रहेको गोदाम घर, पर्खाल तथा वडा नम्बर १ को कार्यालयको पर्खाल, खानेपानी कार्यालयलगायतका संरचना हटाएको छ ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले वडा सदस्य मोहनकर्ण कार्कीको उपस्थितिमा घर, पर्खाल, गोदामलगायतका संरचनामा डोजर चलाएको हो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई यथास्थितिमा राख्न नहुने भन्दै यसका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

यस्तै महानगरको टोलीले हाटखोला चोकदेखि पुलसम्मको सडक मापदण्डमा पर्ने संरचनाहरु समेत हटाएको छ ।

Back to top button