आठ दलीय गठबन्धनको बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ।

राष्ट्रपति निर्वाचनबाट राष्ट्रिय सहमति खोज्ने बताउँदै आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससहितका आठ दलसँग मिलेर नयाँ समीकरण बनाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउनुभएको छ तर सत्ता गठबन्धनको पुष १० को सम्झदारी भन्दै एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत ८ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोसपाबाट शरत्सिंह भण्डारी, नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी हुनुहुन्छ।

Back to top button