सभामुख घिमिरेद्वारा विर्तामोड नगर अस्पताल उद्घाटन

विर्तामोड । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले विर्तामोड नगर अस्पतालको उद्घाटन गर्नुभएको छ । झापाको विर्तामोडमा साढे पाँच करोडको लागतमा निर्मित नगरअस्पतालको दुई तले नयाँ भवनको शनिबार एक समारोहका बीच सभामुख घिमिरेले उद्घाटन गर्नुभएको हो ।

नगरकै गौरव योजनाका रूपमा सो अस्पतालको सेवा नयाँ भवनबाट सुचारु भएसँगै अब आमनागरिकले उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नगर प्रमुख पवित्रा महतारा प्रसाईँले बताउनुभयो। नयाँ भवनबाट दिइने स्वास्थ्य सेवा थप गुणस्तरीय हुने बताउँदै नगरप्रमुख प्रसाईँले भन्नुभयो,‘अब नगरवासीले उपचारमा चर्को शुल्क तिरेर निजी अस्पताल जानुपर्ने बाध्यता टरेको छ।’

हाल नगर अस्पतालमा दैनिक औसत २५० देखि ४०० सम्म बिरामीहरूको उपचार भइरहेको छ। संघीय सरकारको ५ करोड ५० लाख ७ हजार ७ सय ६० रुपैयाँको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको हो।

सो भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो । अस्पतालको पूर्वभागमा साढे १८ करोड लागतमा थप तीन तले भवन निर्माण प्रक्रियामा रहेको उहाँले बताउनुभयो।

यस्तै, नगर अस्पतालबाट २१ प्रकारका स्वास्थ्य सेवा प्रवाह हुने छ। सरकारको स्वास्थ्य बिमा पूर्णरूपमा लागू गरिएको, दैनिक ओपिडी जाँच, उपचार तथा परामर्श सेवा, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, एक्स–रे सेवा, इसीजी सेवा, गर्भवती जाँच, निःशुल्क आइरन तथा क्याल्सियम वितरण तथा खोप सेवा, परिवार नियोजन सेवा छोटो तथा लामो अवधिका परिवार नियोजन सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच, निःशुल्क

सुरक्षित गर्भपतन सेवा, बच्चाहरूमा हुने कुपोषणको जाँच तथा व्यवस्थापन, सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधि वितरण, नसर्ने रोगको जाँच, कीटजन्य रोगहरूको जाँच तथा उपचार सेवा, कोभिड रोगको निःशुल्क जाँच, बाल रोग (५ वर्ष मुनिका बालबालिकाहरू) को एकीकृत व्यवस्थापन, खोप कार्यक्रम (बच्चा जन्मदेखि २ वर्षसम्मका सम्पूर्ण खोपहरू नेपाल सरकारबाट तोकिएका), निरोगिता प्रमाणपत्र,२४ घण्टे आकस्मिक सेवा , २४ घण्टे सुरक्षित प्रसूति सेवा, ८ वटा डायलिसिस मेसिनसहितको सेवा सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनुभयो।

Back to top button