
काठमाडौं । ओखलढुंगाको चिसंखुगढीमा भीरबाट बोलेरो खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना गम्भीर घाइते भएका छन् ।
चिसंखुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामतर्फ ११ जना यात्रु लिएर जाँदै गरेको १ ज ८४७३ नम्बरको बोलेरो आज बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दुर्घटनामा परी मिनबहादुर श्रेष्ठ र भक्त बहादुर थापाको मृत्यु भएको छ । गम्भीर घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेका कारण उकालोमा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइते अधिकांशको टाउकोमा चोट लागेको बताइएको छ ।