सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताउनुभयो । ‘अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो गठबन्धन टुट्नु हुँदैन, त्यसैले विश्वासको मत दिनू भनेर केन्द्रबाट निर्देशन आएको छ,’ भट्टले भन्नुभयो ।

हिजो बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।

त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले हिजै अध्यक्ष प्रचण्डलाई गराउनुभएको थियो । मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने भट्टको माग थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने शाहलाई विश्वासको मत दिन निर्देशन दिनुभएको छ । अब त्यसको औपचारिक निर्णय सुदूरपश्चिम संसदीय दलको बैठकले गर्ने छ । संसदीय दलका नेता खगराज भट्टले भागबण्डा पनि केन्द्रबाटै टुंगिएको बताउँदै अब संसदीय दलको बैठकले निर्णय गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने सहमति शीर्ष तहमा जुटिसकेको बताउनुभयो । सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएकाले दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त हुनुभएको थियो । त्यसपछि सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेले भने शाहलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

Back to top button