दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा शाह

काठमाडौं । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन हुनुभएको छ । माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो।

साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चयनको जिम्मेवारी दिएको शाहले बताउनुभयो। सोही निर्णय अनुसार आफूसहित दक्षिण एसियाका अन्य प्रतिनिधिलाई महासंघको विभिन्न जिम्मेवारी दिएको कर्णाली प्रदेश सांसद समेत रहनुभएका शाहले बताउनुभयो।

उहाँका अनुसार वरिष्ठ उपाध्यक्षमा श्रीलंकाका फर्नान्डो पलिथा चयन हुनुभएको छ । उपाध्यक्षमा शाहसहित माल्दिभ्सका थोलाल र भुटानका छेवाङ रिन्जिङ चयन हुनुभएको छ ।

यस्तै, पाकिस्तानका जाफर महासचिव, भारतका रविन्दर चौधरी वरिष्ठ संयुक्त सचिव, माल्दिभ्सका मुनिथ्थे संयुक्त सचिव र बंगलादेशका अब्दुल रोविक कोषाध्यक्ष चयन हुनुभएको छ। महासंघले श्रीलंका र बंगलादेशका समान एक महिला प्रतिनिधिलाई सदस्यमा चयन गर्नेछ ।

माल्दिभ्सबाट बुधबार स्वदेश फर्कीनुभएका शाहले अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको क्षेत्रिय महासंघ गठन गर्ने निर्देशन अनुसार दक्षिण एसियाली एथलेटिक्स महासंघको नयाँ कार्यसमिति चयन भएको बताउनुभएको छ ।

Back to top button