पूर्व माओवादीलाई पुनः एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका सबै समूह र धारलाई एक ठाउँमा आउन आह्वान गर्नुभएको छ ।

जनयुद्धकालीन माओवादी नेताहरू डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनका सबै समूहलाई पार्टी एकतामा आउन आग्रह गर्नुभएको हो ।

माओवादीले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म मनाउँदै आएको सहिद सप्ताहको आज अन्तिम दिन ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशन’द्वारा आयोजित अन्तरक्रियामा बोल्दै उहाँले माओवादी आन्दोलन कमजोर नभए पनि विभिन्न धार र भंगालामा बाँडिएपछि प्रभाव घटेका कारण पुनः एकताबद्ध हुनुपर्ने आवश्यकता ‍‍औल्याउनुभयो।

वर्तमान सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको तथा सहिद घोषणाका लागि राजपत्रमा सूचना प्रकाशित गर्नेलगायत निर्णय गरेपछि केही शक्तिलाई सह्य नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। उहाँले यतिबेला चर्को बोल्ने भन्दा पनि काम गर्ने समय भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारका तर्फबाट जनयुद्ध, जनआन्दोलन र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धालाई सम्मान गर्ने काम एकपछि अर्को गर्दै अघि बढेको छ। त्यसमा प्रतिक्रियावादी आतंकित भएका छन्। तिनीहरू फेरि एक पटक माओवादीसँग तर्सिएका छन्। माओवादीका नाममा तथानाम गालीगलौज गर्न थालेका छन्।’

प्रधानमन्त्री प्रचण्डले यो बेला चर्को बोल्ने समय नभई काम गर्ने समय भएकाले आफू केन्द्रित भएको बताउनुभयो। ‘कामबाटै प्रतिक्रियावादी शक्तिविरुद्ध लडिरहेको छु,’ उहाँले भन्नुभयो।

उहाँले केही ‘भूत प्रेत’ निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान सहिद नसिद्धिने बरु ज्यूँदो जाग्दो भएर आउने उल्लेख गर्नुभयो। माओवादीविरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्ना तर्फबाट भ्रम चिर्न प्रधानमन्त्री प्रचण्डले सबैलाई आग्रह गर्नुभयो।

Back to top button