सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

धनगढी । सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्‍वासको मत पाउनुभएको छ । उहाँले आज प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ। विपक्षमा ११ मत खस्यो।

विश्वासको मतका लागि २७ मत आवश्यक थियो। मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिकत उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले मत दिएका थिए। नेकपा एमाले र राप्रपाका सांसदहरूले विपक्षमा मतदान गरे।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९,एमालेका १०,माओवादीका ११ (सभामुखसहित),नागरिक उन्मुक्तिका सात,नेकपा (एकीकृत समाजवादी) का ४ र राप्रपा १ तथा स्वतन्त्र सांसद १ जना छन्।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो। मुख्यमन्त्री भएको भोलिपल्ट नै ३ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएका शाहले मन्त्रिमण्डल विस्तार गर्नुभएको छैन्। विश्वासको मत पाएसँगै मन्त्रिपरिषद विस्तार गर्ने उहाँको तयारी छ।

अहिले सरकारमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीबाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ।

Back to top button