आठ दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनको यो दोस्रो बैठक हो। आजको बैठकले भावी रणनीति तय गर्ने छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रपति उम्मेदवार रहनुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसी, जनार्दन शर्मालगायत हुनुहुन्छ ।

राष्ट्रपति निर्वाचनबाट राष्ट्रिय सहमति खोज्ने बताउँदै आउनुभएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितका आठ दलसँग मिलेर नयाँ समीकरण बनाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउनुभएको छ । तर सत्ता गठबन्धनको पुष १० को समझदारी भन्दै एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत ८ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी हुनुहुन्छ।

Back to top button