आईसीसी क्रिकेट विश्वकप लिग–२: नेपालले यूएईलाई दियो २ सय ३० रनको लक्ष्य

काठमाडौं । भीम सार्कीको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल खडा गर्यो।

नेपालका लागि भीमले ९९ बलमा ७ चौकासहित ७० रन बनाउनुभयो। नेपाल ४९–३ को अवस्थामा ब्याटिङका लागि आएका भीमले ७८ बलमा ४ चौकासहित ५० रन पूरा गर्नुभएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो पहिलो अर्धशतक हो। भीमले त्यसअघि नेपालको स्कोर बोर्ड ६८–५ को कठिन अवस्थामा छैटौं विकेटका लागि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकास्नुभएको थियो। सन्दीपले ४० बलमा १ चौकासहित २७ रन बनाउनुभयो।

यस्तै, भीमले सातौं विकेटका लागि आरिफ शेखसँग पनि ५६ रनकै साझेदारी गर्नुभयो। आरिफ ४३ रनमा अविजित रहनुभयो । कुशल मल्लले ३२ रन थप्दा ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीले समान ११ रन जोड्नुभयो।

यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिनुभयो। रोहत मुस्तफा र आर्यन लक्राले समान २ विकेट लिनुभयो । कार्थिक मयप्पनले १ विकेट लिनुभयो ।

लिग–२ तालिकामा यूएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौँ स्थानमा छ। यूएईको एक खेल ‘टाई’ भएको थियो भने दुई खेल नतिजाविहीन बनेको थियो। नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौँ स्थानमा छ। नेपालको एक खेल ‘टाई’ र एक खेल नतिजाविहीन भएको थियो।

Back to top button