होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताउनुभएको छ ।

फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा निजी सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्नुभएको छ ।

उहाँले सन्देशमा आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको समेत औल्याउनुभएको छ ।

चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएका मेयर कोइरालाले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन महानगरवासीलाई आग्रह गर्नुभएको छ ।

‘सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ । साथै जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुगोस्,’सन्देशमा उल्लेख छ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रंगहरु खेली मनाउने प्राचीन परम्परा छ ।

फागु पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा अभिवृद्धि गर्दै आएको मेयर कोइरालाको सन्देशमा उल्लेख छ । पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोली होली मनाइन्छ ।

Back to top button