महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आवश्यकः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ ।

आज १ सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्नुभएको छ ।

सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो’ सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख छ ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक भएको बताउनुभएको छ ।

कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उहाँले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्वर्द्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उहाँले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

Back to top button