महिला उद्यमशीलता र स्वरोजगारलाई घनिभूत बनाउन जरुरी छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना सन्देशमा प्रधानमन्त्रीले समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्व र अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

महिलाको राजनीतिक अधिकारसँगै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप गर्नु महत्त्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।

नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता रहेको चर्चा गर्दै उहाँले सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण सङ्घर्षको जगमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेको उल्लेख गर्नुभएको छ ।

Back to top button