राष्ट्रपति रनिङ शिल्डको उपाधि लिखुलाई

नुवाकोट । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको १२औं संस्करणमा लिखु गाउँपालिका च्याम्पियन बनेको छ। नुवाकोटको चौघडामा सम्पन्न प्रतियोगिताको ६ विद्यामा ९८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

जिल्ला खेलकुद विकास समिति नुवाकोटले आयोजना गरेको प्रतियोगितामा ९८ स्वर्ण, ९८ रजत र १ सय २२ कास्य पदकका प्रतिस्पर्धा भएको थियो।

लिखु १८ स्वर्ण पदकसहित विजेता बन्दा विदुर नगरपालिका उपविजेता र बेलकोटगढी नगरपालिका तेस्रो भयो। उपविजेता विदुरले ६ र तृतीय भएको वेलकोटगढीले ३ स्वर्ण पदक जित्यो। प्रतियोगितामा एथ्ले्टिक्स, भलिबल, तेक्वान्दो, उसु, करातेलगायतका खेलहरू समावेश गरिएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राइले जानकारी दिनुभयो।

प्रतियोगितामा विजेता तथा उपविजेतालाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो।

उहाँले खेल र खेलाडिहरुको स्तर विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने र त्यसका लागि आफ्नो दलले जोड दिने पनि बताउनुभएको थियो।

Back to top button