राष्ट्रपति निर्वाचनमा दुई संघीय सांसद् मतदान गर्नबाट छुट्ने

काठमाडौं । राष्ट्रपति निर्वाचनमा दुई जना संघीय सांसद् मतदान गर्नबाट छुट्ने हुनुभएको छ । सांसदद्वय चन्द्र भण्डारी र वर्षमान पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट छुट्ने हुनुभएको हो ।

नेपाली कांग्रेसका सांसद् भण्डारी र माओवादी केन्द्रका सांसद् पुन विदेशमा उपचाररत हुनुहुन्छ । भण्डारी भारतमा र पुन चीनमा उपचारत हुनुहुन्छ ।

यस्तै, गत फागुन ४ मा आगलागीमा परी घाइते हुनुभएका भण्डारीको अहिले मुम्वइस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी जण्डिसका कारण बिरामी पर्नुभएका पुनको चीनको बेइजिङस्थित एक अस्पतालमा उपचार भइरहेको छ । भोलि राष्ट्रपति निर्वाचन तोकिएकाले दुवै सांसद् उपस्थित हुने सम्भावना छैन ।

संघीय संसद्का २ सय ७५ सांसद्‍मध्ये २ सय ७० जनाले मात्रै मतदान गर्नुहुने छ । सांसद्मा निर्वाचित भएपनि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद् पद खारेज भएको छ । जनता समाजवादी पार्टीकी सांसद् सहनाज रहमानको फागुन १३ गते निधन भएको छ।

Back to top button