भोली हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो।

संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ। मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उहाँले बताउनुभयो।

यस्तै, मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता छन्। मतदानमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ।

निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ। निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ।

निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ ।

निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिने छ।

राष्ट्रपति पदको निर्वाचनमा नौं दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ।

समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रुपमा रहनुभएको छ।

निर्वाचन अधिकृतको कार्यालयले भोलि दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो।

Back to top button