मुलुकको समृद्धि र विकास गर्ने प्रष्ट भिजन एमालेसँग मात्रै छ : पूर्वमन्त्री तामाङ

रामेछाप । पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले मुलुकको समृद्धि र विकासको प्रष्ट भिजन र क्षमता एमालेसँग मात्रै भएको बताउनुभएको छ ।

आज मन्थलीमा एमाले मन्थली नगर कमिटीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) कार्यक्रममा तामाङले एमालेसँग मात्रै नेतृत्व गर्न सक्ने क्षमता रहेको बताउनुभएको हो ।

‘मुलुकमा देखा परेका समस्याहरूको समाधान गरी समृद्धि र विकास गर्ने प्रष्ट भिजन र क्षमता एमालेसँग मात्रै छ।’ उहाँले थप्नुभयो,‘यसबारेमा जनतालाई बुझाउनका लागि पनि एमालेले २ महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो।’

स्थानीय, प्रदेश र संघमै एमाले नेतृत्वमा रहँदा धेरै विकासका काम भएपनि निर्वाचनमा काम भए अनुसारको जनताले मत नदिनुको कारणको तल्लो तहमा गएर खोजी गरिने तामाङको भनाइ छ।

उहाँले माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनेपछि एमालेको साङ्गठनिक ढाँचाहरू बिग्रिएको बताउनुभयो।

तामाङले भन्नुभयो,‘माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनेपछि एमालेको साङ्गठनिक ढाँचाहरू बिग्रिएको थियो।अब बिग्रिएको साङ्गठनिक पद्धति र ढाँचाहरूलाई सही ढङ्गले स्थापित गराउन मिसन ग्रासरुट अभियान महत्त्वपूर्ण हुनेछ।’

Back to top button