राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । आज संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो ।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुग्नुभएका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसक्नुभएको छ । त्यसपछि मात्र नेम्वाङले मतदान गर्नुभयो ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

दिउँसो ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको छ । संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले मतदान गर्दैछन् ।

संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हो । कांग्रेसबाट चुनिनुभएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो ।

दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित हुनुभएको थियो । भण्डारीको लगातार २ कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज मतदान सुरु भएको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

Back to top button