राष्ट्रपति निर्वाचनमा भाग नलिने नेमकिपाको निर्णय

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

आज पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिनुभयो ।

यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो । नागरिकता विधेयक, भारतबाट अतिक्रमित भूमि फिर्ता लगायतका प्रतिबद्धता पनि कांग्रेस र एमालेले नगरेकाले राष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय गरेको नेमकिपाका सचिव सुवालको भनाइ छ ।

नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा ३ जना सांसद छन् ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार हुनुहुन्छ । अहिले संसद भवन परिसरमा मतदान जारी छ ।

यस्तै, राष्ट्रपति पदमा उम्मेदवार दिएका कांग्रेस र एमालेले एमसीसी सम्झौता, एसपीपी साझेदारी, गोर्खा भर्ती, सन् १९५० को नेपाल–भारत सन्धि, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेतीलगायत नेपालको हितविपरीतका सन्धि सम्झौताहरु खारेज गर्ने प्रतिवद्धता नगरेको नेमकिपाको आरोप छ ।

Back to top button