प्रचण्डविरूद्धको रिटमा भोलि सुनुवाइ हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्धको रिटमा भोलि सुनुवाइ हुने भएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिटको पेशी तोकिएको थियो।

आज हेर्न नभ्याइने भएपछि रिट भोलिका लागि सारिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,‘आज न्यायाधीश श्रेष्ठ सम्मिलित संयुक्त इजलास बसेको थियो। सो इजलासमा मुद्दा हेर्नुपर्ने भएकाले न्यायाधीश श्रेष्ठले एकल इजलासका मुद्दा हेर्न भ्याउनु भएन। उहाँको नेतृत्वमा गठित एकल इजलासमा प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटको पेशी तोकिएको थियो।’

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले गत मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गर्नुभएको थियो।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिनुभएको हो ।

गत १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्‍मा आफूले लिने अभिव्यक्ति दिनुभएको थियो।

त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च जानुभएको थियो।

उहाँहरुले प्रचण्डविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिनुभएको थियो।

गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

यस्तै, अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए। अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए। प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले विरोध जनाएका छन्।

Back to top button