नगर बस सञ्चालनका लागि दोस्रो पटक रुट परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुट परीक्षण गरिएको छ ।

महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा आज दोस्रो पटक रुट परीक्षण गरिएको हो । आज कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको हो ।

कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरुमा आइपर्ने समस्यालगायतका विषयमा अध्ययन गरिने बताइएको छ ।

महानगरले मिलन चोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको कोइरालाले बताउनुभयो ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । नगर बस सञ्चालनका लागि खरिद प्रक्रिया अगाडि बढेको छ ।

रुट परीक्षणमा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, प्रशासन प्रमुख अर्जुन थपलिया, सरसफाई शाखा प्रमुख पुनम दाहाल, महानगर प्रहरी प्रमुख राजन पौडेल, मेयरका सचिवालयका सदस्यका साथै गाडी कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो ।

यसअघि फागुन १८ गते पनि उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो ।

Back to top button