आईसीसी विश्वकप क्रिकेटः पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौं । आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ ।

आज त्रिवि क्रिकेट मैदान कीर्तपुरमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो ।

पीएनजीलाई अलआउट गर्न नेपालका स्पीनहरु सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिलेर विकेट लिनुभयो । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिनुभएको थियो ।

तर, पीएनजीको इनिङ्स भने नेपाली स्पीनले ध्वस्त बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिनुभयो । दीपेन्द्रले ९.१ ओभरमा ३६ रन खर्चेर २ विकेट लिनुभयो । पूरै १० ओभर बलिङ गरेका कुशल मल्लले ६० रन खर्चेर १ विकेट लिनुभयो । कप्तान रोहितले समेत ९ ओभर बलिङ गर्दै ३१ रन मात्र खर्चीनुभयो ।

पीएनजीका लागि आठौं नम्बरमा ब्याटिङ गर्नुभएका नोर्मन भानुले सर्वाधिक ६० रन बनाउनुभयो । ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाउनुभयो ।

जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग–२ मा पाँचौ स्थानमा छ । नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ ।

यसअघि पहिला ब्याटिङ गरेको नेपाललाई अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाउने क्रममा ओपनर आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाउनुभयो ।

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाउनुभयो भने भीम सार्कीले ४४ रन बनाउनुभयो ।

Back to top button