दैलेखको गुराँस गाउँपालिकामा विवाह गर्न वडाको स्वीकृति अनिवार्य

दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ ले बालविवाह रोकथाम अभियान स्वरूप वडाले वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाउने प्रावधान ल्याएको छ।

वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताउनुभयो।

‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भन्नुभयो।

स्थानीय तहमा बालअधिकार सुनिश्चित गर्न दैलेखको गुराँस गाउँपालिका–८ बालमैत्री वडा घोषणा भइसकेको छ। वडालाई गत मंसिर अन्तिम साता बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो।

घोषणासँगै यो वडा जिल्लाकै तेस्रो बालमैत्री वडा बन्यो। बालमैत्री स्थानीय शासनयुक्तसँगै बालविवाह निषेधित वडा घोषणा गरेको ३ महिनापछि सो नियम लागू गरेको हो।

वडासमितिको निर्णयअनुसार वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको वडाध्यक्ष ओलीले बताउनुभयो।

वडाले ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा विवाह गर्न वडा कार्यालयबाट जारी गरिएको अनुमतिपत्र अनिवार्य रूपमा लिएर आउनसमेत भनेको छ। वडाध्यक्ष ओलीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो नियम लागू गरिएको दाबी गर्नुभएको छ ।

‘यो नियम लागू भएसँगै बालविवाह न्यूनीकरण र नागरिकलाई समयमै विवाह दर्ता गर्नसमेत प्रेरित गर्नेछ।’ वडाध्यक्ष ओलीले भन्नुभयो।

Back to top button