आईसीसी विश्वकप क्रिकेटः पीएनजीले यूएईलाई दियो २ सय ४७ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगर त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई २ सय ४७ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले ९ विकेट गुमाएर २ सय ४६ रनको योगफल तयार गर्यो।

पीएनजीका शीर्ष ३ ब्याटरले उत्कृष्ट ब्याटिङ गरे पनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिँदा विशाल योगफल बनाउन असफल रह्यो। ओपनर किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ रनको अर्धशतकीय इनिङ खेल्नुभयो।

अर्का ओपनर हिरीले ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रनको अर्को अर्धशतकी इनिङ खेल्नुभएको थियो। वान् डाउनमा क्रिजमा उत्रिनुभएका सेसे बाउले १ सय ६ बलमा १० चौकासहित अविजित ८१ रनको इनिङ खेल्नुभयो।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यूएईका लागि आयन अफजल खानले १० ओभरमा ३४ रन खर्चेर ३ मेडनसहित सर्वाधिक ३ विकेट लिनुभयो। यस्तै, जहुर खाले ७ ओभरमा ४९ रन खर्चेर २ विकेट लिनुभयो। जुनेद सिद्धिक्वीले ९ ओभरमा ३९ रन खर्चेर १ मेडनसहित २ विकेट लिनुभयो ।

यस्तै, रोह मुस्तफा र कार्तिक मेइयाप्पनले १–१ ब्याटरलाई पेभेलियन फर्काउनुभएको थियो । हिजो भएको खेलमा नेपालसँग ५२ रनले पराजित भएको पीएनजी आज पहिलो जितको खोजीमा हुनेछ। यस्तै, एकदिवसीय शृंखला जोगाउन यूएई पनि आजको खेल जित्नै पर्ने दबाबमा छ।

तालिकाको छैटौं स्थानमा रहेको यूएई पाँचौं स्थानको नेपालभन्दा ३ अंकले पछाडि छ। यद्यपि, नेपालले एक खेल बढी खेलेको छ। नेपालले बाँकी तीनै खेलमा जित निकाले शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा सोझै स्थान बनाउने छ।

यूएईले भने बाँकी चारै खेलमा जित निकाले पनि नेट रनरेट निर्णायक बन्ने छ। आजको खेलमा पराजित भए यूएईको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। यस्तै, शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता जोगाउन पनि अझै चुनौतीपूर्ण बन्ने छ।

पीएनजी ४ खेल मात्र जितेर ९ अंकसहित पुछारमा छ।

Back to top button