देशले सुशासन खोजेको छ : राष्ट्रपति पौडेल

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनबाट देशको उन्नति हुनेभएकोले देशले सुशासन खोजेको बताउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि आज बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘ जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमीहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतिको बाटो समात्नुपर्छ । सुशासनबाट देशको उन्नति हुन्छ । देशले सुशासन खोजेको छ।’

राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताउनुभयो । उहाँले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि बीपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गरे । जसरी देशलाई नयाँ दिशा देखाए । आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ ।’

उहाँले समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गर्नुभएको थियो। पौडेल हिजो भएको राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै विजयी हुनुभएको थियो।

Back to top button