एमालेले ‘मिसन ग्रासरुट’लाई वडातहसम्म लैजाने

काठमाडौं । नेकपा एमालेले मिसन ग्रासरुटलाई वडा तहसम्म विस्तार गर्ने भएको छ। एमालेले अभियानबाट पार्टीका कमिटीहरू चलायमान भएको र कार्यकर्ताहरूमा उत्साह पैदा भएकाले मिसन ग्रासरुटलाई वडातहसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)को समीक्षा समेत गरेको छ। पार्टीले मिसन ग्रासरुट यही फागुन ५ गतेदेखि शुरू गरेको हो ।

पार्टीका उपाध्यक्ष र सचिवहरू अनुगमन र संयोजनको जिम्मेवारीमा रही केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा खटाई सञ्चालन गरिएको अभियानलाई वडा तहसम्म लैजाने निर्णय भएको छ ।

यस्तै, एमालेले २ महिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’अभियान सञ्चालन गरिरहेको छ। पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा खटाइएका छन्।

अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ।

एमाले महासचिव पोखरेलले मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान भएको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘मिसन ग्रासरुट अभियान समग्रतामा सिंगो पार्टीलाई आम जनतासँग जोड्ने अभियान हो।’

एमाले महासचिव पोखरेलले मिसन ग्रासरुटलाई पार्टी सुदृढीकरण र विस्तार अभियानका रुपमा सिर्जनात्मक ढंगले अघि बढाउन निर्देशन दिनुभएको छ ।

Back to top button