उपराष्ट्रपतिमा जसपाका दुई सहित गठबन्धनका तीनजना उम्मेदवार

काठमाडौं । सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी दर्ता हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जसपाबाट एक जना पुरुष र एक जना महिलाको उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले महिला उम्मेदवार ममता झालाई उठाउने छ । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले अहिले तीनजनाको उम्मेदवारी दर्ता गरिने र छलफलपछि भोली एकजनाको टुङ्गो लगाउने बताउनुभएको हो ।

नेपाली कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीबिच भने उपराष्ट्रपति जसपाले लिने सहमति भएको थियो । जसअनुसार जसपाले संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खसआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।

तर निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । यसले जसपा अफ्ठ्यारोमा परेको छ ।

त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको गरिएको हो । जसपाले पुरुषमा रामसहाय यादवलाई नै उम्मेदवार बनाउनेछ भने महिलामा प्रमिला यादवलाई अघि सार्ने देखिएको छ ।

गठबन्धनका साना दलहरुले जनमत पार्टीका उम्मेदवार ममता झालाई समर्थन गर्ने बताएका छन् ।

Back to top button