द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताविपरीत : अग्निप्रसाद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताउनुभएको छ ।

आज जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताउनुभयो ।

‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ,’ उपाध्यक्ष सापकोटाले भन्नुभयो,‘त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पनि शुरुवात गरिरहेको छ ।’

उहाँले अन्य तरिकाले शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालीन न्यायको पद्धति, प्रक्रिया विपरीत जाँदा शान्ति प्रक्रियालाई असर पुर्‍याउने बताउनुभयो ।

Back to top button