एमालेबाट उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । संसद् भवन नयाँ बानेश्वर पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

शाक्यको प्रस्तावकमा पार्टी अध्‍यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, सचिव छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ हुनुहुन्छ ।

यस्तै, समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवति न्यौपाने र यशोदा रिजाल हुनुहुन्छ।

शाक्य एमाले उपाध्यक्ष हो । उहाँ बागमती प्रदेशको पूर्वमुख्यमन्त्री समेत हो । आज बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने निष्कर्ष निकालेको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नमिल्ने निष्कर्ष निकालेको हो ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते तय भएको छ।

Back to top button