नेपालीहरु बहादुरमात्रै होइन विद्वान पनि छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको टिप्पणी गर्नुभएको छ ।

आज नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको बताउनुभएको छ ।

उहाँले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको भन्दै नेपालका पुर्खाहरु जति विद्वान अन्यत्र कतै नरहेको दाबीसमेत गर्नुभयो ।

‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन् । हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे । कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले अगाडि भन्नुभयो,‘२६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए । पाणिनी अर्घखाँचीका थिए । यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ । यो इतिहासमा पनि विद्वानहरुको भूमि हो । भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ ।’

उहाँले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने बताउनुभयो । नेपाल ज्ञानको उत्पत्ति विन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको उहाँको टिप्पणी छ ।

Back to top button