तीनै तहको समन्वोय आवश्यक : मन्त्री शर्मा

तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको ७ औँ स्थापना दिवसको कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गर्नुभएको हो ।

मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताउनुभयो। संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको धारणा राख्नुभयो।

उहाँले भन्नुभयो,‘स्थानीय तह जनताको नजिकको सरकार हो। जनताको सुखदुःखको साथी हो ।’

विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो। स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताउनुभयो।

Back to top button