माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । द्वन्द्वकालीन मुद्दामा एक भएका माओवादीले आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलनको आयोजना गरको छ ।

नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार अन्तरक्रियामा माओवादी घटकका नेता,नागरिक समाज, कानुन व्यवसायी,पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।

द्वन्द्वकालीन घटनाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्व सर्वोच्च अदालतमा रिट दायर भएपछि बसेको माओवादी घटकको बैठकले अन्तक्रिया गर्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विपक्षी बनाइ दायर गरेको रिटमाथि सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३ वर्षअघि टुँडिखेलमा जनयुद्धका क्रममा १७ हजार जनाको मृत्यु भएको र त्यसमध्ये ५ हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दिनुभएको थियो।

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा प्रचण्डले भन्नुभयो,‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन। सत्य के हो,मलाई भन्न दिनुस्। हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु।’

सार्वजनिक कार्यक्रममै प्रचण्डले मान्छे मारेको जिम्मा लिएपछि पीडित कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका हुन्।

Back to top button