उपराष्ट्रपतिका उम्मेदवार रामसहायको उम्मेदवारी कायमै रहने

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादवको उम्मेदवारी यथावत रहने भएको छ ।

मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडैलले यादवको उम्मेदवारी यथावत रहने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘लिंग वा समुदाय फरक हुनुपर्ने गरी संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिदा खास आर्य समुदायको भन्दा फरक मधेशी समुदाय रामसहाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने देखियो ।’

यादवको उम्मेदवारी खारेजीको माग गर्दै उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उजुरी दिनुभएको थियो। उहाँहरूले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरित रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो।

उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिनुभएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ।

Back to top button